निजगढ विमानस्थलकाे नाम परिवर्तन गर्छौं : याेगेश भट्टराई

yogesh_Bhattarai
लाेकपाटी न्यूज

चितवन, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन्। उनले विमानस्थलको नाम फेर्ने सोच बनाएको जानकारी दिए।

चितवनको सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी भइरहेको बताए। ‘विमानस्थलको ईआईए गरेर वन मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अब छिट्टै दुबै मन्त्रालयस्तरमा सहमति गरेर एकीकृत प्रस्ताव तयारी गरी मन्त्रिपरिषदमा लैजान्छौं।’

मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि विमानस्थल बन्ने सुनिश्चित हुने उनले बताए। एकीकृत प्रस्तावभित्र टाँगिया बस्ती स्थानान्तरणदेखि रुख कटान, बनाउने मोडल र अन्य व्यवस्थापकीय कार्यहरु समेटिने मन्त्री भट्टराईले जानकारी दिए।निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुर सिमराको पनि पर्छ,’ मन्त्री भट्टराईले भने, ‘निजगढ नाम परिवर्तन गरेर बारा राख्न छलफल चलाएका छौं।’

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री भट्टराईले मंसिर महिनाभित्र विमानस्थलको शिलान्यास गर्ने बताए। मंसिरभित्र विमानस्थलको शिलान्यास हुन्छ त भन्ने प्रश्नमा मन्त्री भट्टराईले भने, ‘डोजर लगाएर इँटा राखेपछि मात्रै शिलान्यास भयो भन्ने चलन छ, इँटा राख्नु ठूलो कुरा होइन, इँटा राखेपछि काम धमाधम हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा २५ लाख रुख काटिने भनेर गरिएका चर्चा विमानस्थल बन्न नदिने सानो संख्यामा मान्छेले गरेको हल्ला मात्र भएको मन्त्री भट्टराईले बताए । विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत रहेको दाबी गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक ६ सय उडानबाट २० हजार यात्रुले सेवा लिएको जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘२० लाख पर्यटक भित्राउन पनि यो विमानस्थल सानो भइसक्यो, निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छँदैछैन यसलाई नेपालको सिभिल एभियसनको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्