काठमाडौं, ३० कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडी नगरपालिका वडा नम्बर १ स्थित बरुवाका २ स्थानीयको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।जंगली हात्तीको आक्रमणबाट ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको आज मृत्यु भएको हो।
प्रचण्डले उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। मृतक परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रचण्डले यस्ता घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।



लाेकपाटी न्यूज

