काठमाडौं, ३० कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाबाट पिसाब झर्ने नली युरेटरमा राखिएको ‘स्टेन्ट’ निकाल्न ग्राण्डी अस्पताल पुगेका छन्। कात्तिक १३ गते उपचारका क्रममा ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको युरेटरमा ‘स्टेन्टु राखिएको थियो।
त्यतिबेला प्रधानमन्त्रीको मिर्गौलाको दुई पटक डायलासिस पनि गरिएको थियो। मिर्गौला र पिसाब थैली जोड्ने सानो नलीलाई युरेटर भनिन्छ। यो नलीबाट पिसाब बग्न कठिन भएपछि डाक्टरहरूले स्टेण्ट राखेका थिए। साँघुरिएको नली खुलाउन त्यहाँभित्र राखिने पाइप जस्तो सानो वस्तुलाई स्टेन्ट भनिन्छ।
लिंगबाट छिराएर युरेटरमा स्टेन्ट राखिन्छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले स्टेन्ट झिक्न शनिबार अस्पताल जान लागेको जानकारी गराएका थिए।
स्टेन्ट निकाल्ने क्रममा प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा २ घण्टा रहनेछन्। त्यो अवधिमा उनको स्वास्थ्य अवस्था कस्तो रहन्छ त्यस आधारमा प्रधानमन्त्री ओलीलाई बालुवाटार पठाउने वा अस्पतालमै राख्नुपर्ने भन्ने निर्धारण हुन्छ। स्रोतका अनुसार स्टेन्ट झिकेको ४८ घण्टासम्म चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य नजिकबाट निगरानी गर्नेछन्। त्यसपछि डायलासिस तत्काल गर्न पर्ने वा नपर्ने यकिन हुनेछ।



लाेकपाटी न्यूज

