काठमाडौं, २९ कात्तिक। प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता चन्द्रबहादुर चन्दलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार २८ कात्तिकदेखि चन्दलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेर राखिएको छ। ‘अस्पतालले मुटुसम्बन्धी समस्या देखाएको छ, उपचार भइरहेको छ,’ डीएसपी शाहले भने।
चन्द्रबहादुर चन्द विप्लवका सहोदर दाइ हुन्। उनी विप्लव नेकपा मध्यपश्चिम कमाण्ड ईन्चार्ज थिए। ३० असोजमा दाङको राजपुर गाउँपालिका–४, मुङ्ग्रेठास्थित एक घरबाट हातहतियार, विस्फोटक पदार्थसहित चन्द समूहका २१ जना नेता र कार्यकर्ता पक्राउ परेका थिए।
उनीहरूबाट २ थान लोड गरिएका गोलीसहितका पेस्तोल, कटुवा पेस्तोल ४ र थ्रीनटथ्री राईफलको ५ राउण्ड गोली तथा १ थान सुतली बमसमेत बरामद भएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

