काठमाडौं, २९ कात्तिक। देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ। कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष फेर्ने विषयमा छलफल अगाडि बढेको हो।
अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए। हाल कायम आधार वर्षलाई परिवर्तन गरेर कुनै साधारण वर्षलाई आधार मान्ने दिशातर्फ छलफल भइरहेको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए।
‘आर्थिक बर्ष २०६७/६८ अथवा यस्तै साधारण वर्षलाई आधार वर्ष बनाउने कि भन्ने विषयमा कुरा भइरहेको छ,’ खतिवडाले भने। अर्थतन्त्रमा विकसित पछिल्ला उपलब्धिलाई समेट्ने गरी आधार वर्ष तयार हुने उनले बताए।
तथ्याङ्क विभागले अहिले २०५७/५८ लाई आधार वर्ष मानेर देशको समग्र अर्थतन्त्रको विभिन्न सूचकहरू तयार गर्छ । अर्थ मन्त्रालयले नयाँ आधार वर्ष तय गरेर सूचकाङ्क तयार गर्ने विषयमा विभागलाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइसकेको खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।
तथ्याङ्क विभागले पछिल्लो पटक प्रदेशस्तरमा गरेको राष्ट्रिय लेखा तथ्याङ्कका लागि पनि २०५७/५८ लाई नै आधार वर्ष मानेको थियो। आधार वर्षकै आधारमा विभागले आर्थिक वृद्धिदरलगायत अर्थतन्त्रसँग सम्बन्धित सूचकको तुलनात्मक अध्ययन विश्लेषण गर्छ।



लाेकपाटी न्यूज

