सिन्धुपाल्चोक जिल्ला उत्तरमा रहेको सिन्धु नदी र पाल्चोक भगवतीको नामबाट नामाकरण गरिएको मध्य क्षेत्रको प्रदेश नं.–३ मा पर्ने जिल्ला हो। सिन्धुपाल्चोक जिल्ला २७.२७ उत्तरदेखि २८.१३ उत्तरी अक्षांश र ८५.२७ पूर्वदेखि ८६.०६ पूर्वी देशान्तरमा अवस्थित छ। नेपाल राष्ट्रको कूल क्षेत्रफलमध्ये १.७३% भू–भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला प्रदेश नं.–३ का १३ वटा जिल्लाहरुमध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो जिल्ला हो।
जिल्लाको परिचय
यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग किमि रहेको छ। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला रहेका छन्। कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भू–भागमा फैलिएको यस जिल्लाको कुल भू–भागमा ९६९३ हेक्टर हिउँले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बन अर्थात् जंगल क्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन छ। खेतीयोग्य जमिन ३२,९३३ हेक्टर रहेको छ।

समुद्री सतहबाट करीब ६७१ मिटरदेखि ७०८६ मिटर उचाइमा रहेको यस जिल्लाको सदरमुकाम चौतारा सुमन्द्री सतहबाट १४१८ मिटरको उचाइमा छ। यहाँको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियसदेखि न्यूनतम ५ डिग्री सेल्सियससम्म रहने गर्दछ। यहाँ औसत २६१.५ मिलिमिटर वर्षा हुने गर्दछ।
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दाँजोमा आउने हिमाली जिल्ला हो। यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु प्रमुख हुन्। यहाँ भोटेकोशी, सुनकोशी, इन्द्रावति, ब्रम्हायणि र मेलम्चीजस्ता प्रमुख नदीहरु छन्। पाँचपोखरी, भैरवकुण्ड र सूर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र सधैैंभरि तातोपानी आइरहने तातोपानी धारा यहाँ रहेका छन्।
बञ्जीजम्प स्थल, हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाइको जुगल हिमाल र अन्य हिमाल रहेका छन्। त्यसैगरि इन्द्रावति नदीको फाँट, जलबिरे खोलाको फाँट र सुनकोशी नदीको वरीपरी जस्ता प्रख्यात पर्यटकीय स्थलहरु सिन्धुपाल्चोक जिल्लामा पर्दछन्। कला, साहित्य र संस्कृतिका दृष्टिले समेत सिन्धुपाल्चोक अग्रणी जिल्लामा पर्दछ।
उत्तरमा रहेको प्रमुख भन्सार विन्दु तातोपानी समेत यसै जिल्लामा पर्दछ। कोदारी लोकमार्ग चीनसँगको ब्यापारका लागि देशकै प्रमुख पारवहन मार्ग जिल्लाकै निम्ति गौरवको मार्ग हो। विनाशकारी भूकम्पपछि अवरुद्ध यो राजमार्ग हाल सञ्चालनमा आएको छ। धान, मकै, कोदो, गहुँ, जौ र फापर जिल्लाको मुख्य बाली हुन्। पर्यटकीय दृष्टिले सुकुटेमा जलयात्राका लागि दैनिक हजारौं पर्यटक आउने गर्दछन्। जलयात्राका दृष्टिले सुकुटेलाई उत्कृष्ट गन्तव्य मानिन्छ।

यस जिल्लामा तामाङ, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री, नेवार आदी समुदायका मानिसहरुको बसोबास रहेको छ। यी समुदायका मानिसहरुले विभिन्न धर्म मान्दै आएका छन्, जसमा बौद्ध धर्मावलम्वीहरुको बाहूल्यता छ। यहाँ वौद्ध, हिन्दू, क्रिश्चियन धर्म मान्ने मानिसहरु बसोबास गर्दछन्। लिस्तीकोट, उग्रचण्डी, त्रिपुरा सुन्दरी, पाल्चोक भगवती, कोटमौलो, गौरती भीमेश्वर मन्दिर तथा लार्के घ्याङ गुम्बा यहाँका प्रमूख धार्मिक स्थलहरु हुन्।
सिन्धुपाल्चोक जिल्लामा २ निर्वाचन क्षेत्र, ४ प्रदेश सभा क्षेत्र र १२ स्थानीय तहहरु रहेका छन्। १२ स्थानीय तहहरुमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, हेलम्बु गाउँपालिका, भोटेकोशी गाउँपालिका, इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका र लिसङ्खु पाखर गाउँपालिका रहेका छन्।
कसरी रह्यो सिन्धुपाल्चोक ?
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुअघि सिन्धुपाल्चोक जिल्ला ‘पूर्व १ नम्बर’ प्रशासनिक क्षेत्र अन्तर्गत पर्दथ्यो। काभ्रे र सिन्धुपाल्चोक दुवै इलाकाहरू समाहित ‘पूर्व १ नम्बर’को मुख्य प्रशासनिक मुकाम चौतारा थियो, धुलिखेलमा चाहिँ छोटी मुकाम। जुन समयमा सिन्धुपाल्चोक ‘पूर्व १ नम्बर’ अन्तर्गत थियो, त्यसबेला प्रशासनिक सुविधाका लागि ४० वटा थुमहरू खडा गरिएका थिए। ती ४० थुमहरुभित्र ‘सिन्धु’ र ‘पाल्चोक’ नामका दुई वटा थुमहरू पनि थिए। तिनै दुई थुमहरूको योगबाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको बुझिन्छ।
सिन्धुपाल्चोकबारे केही किम्वदन्ती
ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो। श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए। एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए।

पर्वतराजकी छोरी पार्वती यहींका हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन्। हिमवत खण्डमा जनाइएअनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन्, अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो। अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो, त्यही नदी सुनकोशी नदी हो।
राजा इन्द्रले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे। उनी नहुँदा स्वर्गमा बाधा पर्यो र इन्द्राणी आई विलाप गर्न लागिन्। उनको विलाप सुनेर इन्द्रको मति फिरेछ। उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले। इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती नदी रह्यो।
यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल, भूस्थल, युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन्। ती पात्रहरूमध्ये हेलम्बु निर्वासित भएकी राजराजेश्वरी (रणबहादुर शाहकी जेठी रानी) दुगुनागढी र बहादुर शाह, जनरल भीमसेन थापा र भोताङ, अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा, रणनैनेश्वर शिवालय र सिपा हवेली, तिब्बतसँग सन्धि गरेर फर्केका काजी भीम मल्लस सुनकोशी एवं इन्द्रावती संगममा क्रुरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्वपूर्ण घटनाहरू हुन्।
सिन्धुपाल्चोकबारे केही तथ्यहरू
क्षेत्रफलको आधारमा यो जिल्ला प्रदेश नं.–३ का १३ जिल्लामध्ये सबैभन्दा ठूलो जिल्ला हो। चीनसँग सडकमार्ग भएर जोड्ने महत्वपूर्ण ब्यापारिक नाका तातोपानी यसै जिल्लामा पर्दछ। काठमाडौबाट सबैभन्दा नजीक मानिएको जुगल हिमाल यसै जिल्लामा पर्दछ। साँगाचाेकगढी जिल्लाकाे एक ऐतिहासिक र सामरिक महत्वकाे ठाउँ मानिन्छ।
मुलुकमा नै सबैभन्दा बढी सन्यासीहरूको बसोबास भएको जिल्ला पनि सिन्धुपाल्चोक हो। ठूलो धादिङले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई जोड्छ। भोटेकोशीमा रहेको विश्वमा नै साहसिक खेल मानिने १६० मिटर अग्लो बञ्जीजम्प यसै जिल्लामा पर्दछ।

सिन्धुपाल्चोकका प्रमूख व्यापारिक केन्द्रहरुमा तातोपानी, बाह्रबिसे, स्याउले बजार, चौतारा, खाडीचौर, लामोसाँघु, जलबिरे, मेलम्ची, नवलपुर, चनौटे, तिपेनी, मुडे, बलेफी, सुकुटे, बाहुनेपाटी, सिक्रे, चेहेरे आदि, साँगाचोक आदि रहेका छन्।
जिल्लाका प्रमुख नदीनालाहरू इन्द्रावती, भोटेकोशी, सुनकोशी नदीहरूदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला आदि हुन्।
सिन्धुपाल्चोकमा पाँचपोखरी, सिपाखोला, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी प्रमुख ताल तथा पोखरीहरू रहेका छन्। २०७२ मा आएको विनाशकारी भूकम्पले सबैभन्दा बढी धनजनको क्षति भएको सिन्धुपाल्चोक जिल्ला हाल तीव्र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहेको छ।




लाेकपाटी न्यूज

