पोखरामा आउने पर्यटन अब गाउँ–गाउँमा पुर्‍याउने : मन्त्री लम्साल

रासस न्यूज

बलेवा, २७ कात्तिक। नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर। आफैंमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ।

तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन्। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन २०१९ ले पोखरा आउने पर्यटकलाई गण्डकी प्रदेशका अरु पर्यटकीयस्थलमा पुर्‍याउने प्रयत्न गर्नेछ ।

बागलुङको ताराखोलामा भुस पोल्ने मेलामा पुगेका मन्त्री लम्सालले अब नेपाल आउने पर्यटक पोखरामा मात्रै नभई गाउँ–गाउँमा पुर्‍याउनु पर्ने बताए। कृत्रिम शहरमा अल्झेका पर्यटकलाई गाउँको प्रकृति र संस्कृतिसँग जोड्न गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालयले भरपुर प्रयास गरिरहेको मन्त्री लम्सासले बताए।

ऐतिहासिक महत्व बोकेका संस्कृति र सम्पदाको संरक्षणमा गण्डकी सरकार सधैँ तत्पर रहेको मन्त्री लम्सालले जिकिर गरे। कृषि पर्यटन र संकृतिको प्रचारप्रसार नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको मन्त्री लम्सालले बताए।

अर्गल खेलकूद विकास मञ्चले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले इतिहास र संस्कृति राज्यको सम्पत्ति भएको भन्दै संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्