काठमाडौं, २७ कात्तिक। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर भएको छ। उनीहरु विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ।
उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको रहस्य मंगलबारमात्र खुलेको हो।
सर्वोच्च अदालतमा शिल्पा पोखरेलले जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दायर गरेको निवेदनमा सरकारी वकिलको कार्यालयले जिल्लामा मुद्दा दायर भएको जानकारी गराएपछि यो रहस्य खुलेको हो। सरकारी वकिलको कार्यालयले कात्तिक २८ गते दुवैविरुद्ध विवाह बदर र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो। सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी संहिताको दफा १७५ को उपदफा १, २ ,४ र ५ को अभियोग दाबी गरेको छ।
जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुबैका नाममा पक्राउ पुर्जी जारी भएको थियो। उनीहरु पक्राउ नपरेपछि सरकारी बकिलको कार्यालयले बहुविवाह मुद्दा दायर गरेको हो।
काठमाडौंले बहुविवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुबैलाई पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन्।आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्।
उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन्। शिल्पाको उक्त निवेदनमा साउन २४ गते भएको सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको आदेश रोक्न आदेश दिन अस्वीकार गरेको थियो।



लाेकपाटी न्यूज

