स्याङ्जा जिल्ला : एक संक्षिप्त परिचय

New syangja
लाेकपाटी न्यूज

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लामा पुतलीबजार (१४ वडा), भीरकोट (९ वडा), वालिङ (१४ वडा), गल्याङ (११ वडा) र चापाकोट (१० वडा) गरी ५ वटा नगरपालिका रहेका छन्। त्यसैगरि फेदीखोला (५ वडा), आँधिखोला (६ वडा), हरिनास (७ वडा), विरूवा (८ वडा), कालिगण्डकी (७ वडा) र अर्जुनचौपारी (६ वडा) गरी जम्मा ६ वटा गाउँपालिका रहेका छन्। यस्तै गरी २ वटा संघीय संसदका निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेका छन्।

यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्र सतहबाट न्यूनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सीमाना छुट्याएको छ।

भौगोलिक अवस्थिति

जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। मुग्लिङ नारायणगढ सडक निर्माण नहुंदै सुनौली-पाल्पा-स्याङ्जा-पोखरा-काठमाडौसम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मी. पक्की सिद्धार्थ लोकमार्गभित्र यातायात सञ्चालन हुुँदै आएको छ। त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्लाभित्र पर्दछ।

halko_syangja

हाल स्याङ्जा नेपालको ठूलो जल विद्युत परियोजना-कालीगण्डकी ए (१४४ मेगावाट), सबैभन्दा ठूलो पहाडी सिंचाई योजना-चापाकोट टार सिंचाई योजना (१००० हेक्टर), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुबारी, नेपालकै नमुना मानिने पाल्पा र स्याङ्जाको सिमानासँग जोड्ने कालीगण्डकी नदीमाथि रहेको राम्दीको पुल र दूध, सुन्तला, अदुवा र कफी उत्पादन गर्ने जिल्लाको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार स्याङ्जामा २,८९,१४८ जना मानिसहरु अक्सर बसोबास गरेका छन्। यो जिल्लाले नेपालको क्षेत्रफलको ०.७९ प्रतिशत र जनसंख्याको १.०९ प्रतिशत अंश ओगटेको छ। ७७ जिल्लामध्ये स्याङ्जा क्षेत्रफलमा ६४ औं र जनसंख्यामा ३३ औंं स्थानमा रहेको छ। साक्षरता र सरकारी सेवाका दृष्टिले स्गाङ्जा नेपालकै अग्रणी जिल्लामा गनिन्छ।

स्याङ्जाको ऐतिहासिक परिचय

विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगु ऋषिको तपस्यास्थल (हालको चण्डीभञ्ज्याङ्गको भृगतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसँग जोडिएको आँधीखोलाको उद्गमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरुपमा लिन सकिन्छ। प्राचीन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारका सेतीबेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छायाँ क्षेत्र हुँदैं उत्तर पञ्चासेधाम (बालाचतुर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ।

प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित स्याङ्जा जिल्लाले, नेपाल एकीकरण पूर्व चौबिसे राज्य अन्तर्गत छ टुक्रे रजौटाहरु गह्रौं, भीरकोट, सतौ, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ। ढोर र पैंयुको धेरैजसो भूभाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी चार रजौटाबाट शासित भूभाग नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बनेर रहेको छ। यस जिल्लाको क्षेत्रफल ११६४ वर्ग किमी रहेको छ।

यस जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ। नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन्। यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम रामका पिता दशरथसँग जोडिएको अन्धाअन्धी दह र आँधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन्।

यो जिल्ला सुन्तला, अदुवा, अलैंची तथा कफी जस्ता नगदेबालीका लागि प्रसिद्ध छ र यहाँ उत्पादित कृषिजन्य वस्तुहरु देश बिदेशमा समेत निर्यात हुने गरेको पाईन्छ। यस जिल्लालाई देशकै शिक्षित जिल्लाको रुपमा चिनिन्छ। यहाँका अधिकांश शिक्षित वासिन्दाहरु नेपाल सरकारको निजामति सेवा अन्तर्गतका उच्च ओहोदामा पुगी देश सेवामा जुटेका छन्।

कसरी रह्यो स्याङ्जा नाम ?

अठारौ शताब्दीतिर आँधीखोला उर्लदै बढेर आएपछि ठेलिएछ। यसरी ठेलिएको देखेपछि मानिसहरूमा हाहाकार मच्चिन थाल्यो। एक जना सज्जन बृद्धाले भगवानलाई पुकार्दै खोलो ‘स्यांइय जा’ भन्ने कामना गरेछन्। बुढाको कामनासँगै ठेलिएको खोलो ‘स्यांइय’ खूलेर गएपछि ‘स्यांइय जा’को अपभ्रंस भएर स्याङ्जा हुन गएको हो भन्ने किंवदन्ती छ।

एकीकरणपूर्व सेन बंशीय चौबीसे राज्य अन्तर्गत सतौ गह्रौ, नूवाकोट र भीरकोट राज्यमा बिभक्त भइ ‘सेन जा’ भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाइ पनि पाइन्छ। त्यसैगरि यस जिल्लामा सिंजाली मगरहरूको ठूलो बस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको हो भन्ने भनाइ पनि छ।

स्याङ्जा जिल्लाको जम्मा १,०२,०८७ हेक्टर जमीन रहेकोमा कृषिका लागि खेतियोग्य जमीन ७६,५२० हेक्टर रहेकोमा जम्मा ४७,९४२ हेक्टरर जमीनमा मात्र खेती गरिएको छ, जसमध्ये खेततर्फ १६,१७८ हे। र पाखोतर्फ ३१,७६४ हे। रहेको छ। फलफूलतर्फ सुन्तला, मौसमी र वेमौसमी तरकारी उत्पादन, कफी खेती, सदन बाली विकास कार्यक्रम, मौरीपालन तथा रेशम खेती विकास कार्यक्रम, दिगो भू–व्यवस्थापन र साना सिंचाई कार्यक्रम प्रमुख रूपमा सञ्चालनमा ल्याइएको छ।

प्रमूख पर्यटकीय गन्तव्य

(क) भालुपहाड : स्याङजाको पर्याटकीय तथा मनोरम ठाउँ हो भालु पहाड। यो ठाउँको दृश्यावलकनका लागि दैनिक सयौँ पर्यटक आउने गर्दछन्। जिल्लाको आन्तरिक तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड। यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ।

(ख) छाङ्छाङ्दीको वातावरण : श्री स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल, छायाँ क्षेत्रको रूपमा समेत परिचित पवित्र तीर्थस्थल जिल्ला सदरमुकामबाट १८ किलो मीटर दक्षिण सिद्धार्थ राजमार्गमा नै पर्छ। सुन्दर, मनमोहक, शितल वातावरण यहाँको विशेषता हो।

andhaandhi

(ग) पञ्चासेको लेक : समुद्र सतहबाट २५१२ मीटरको उचाइमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ। यो स्थान स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रूपमा रहेको छ। यो गण्डकी प्रदेशकै प्रमूख पर्यटकीय गन्तव्य हो।

(घ) अन्धाअन्धी दह : आँधीखोलाको मुहान अन्धाअन्धी दह चिलाउनेबासमा पर्दछ। प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ। त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबुआमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगेपछि बाबु आमालाई चिलाउनेवास अन्तर्गतको अन्धाअन्धी क्षेत्रमा राखी पानी खोज्न जाँदा दशरथले शिकारका लागि जताततैको पानी सुकाई श्रवणकुमार समाधि क्षेत्रमा मात्र पानी राखेकोमा बाबुआमालाई पानी खुवाउन पानी खोज्दै जाँदा श्रवणकुमार स्याङ्जा जिल्लाको बाङ्गसिङ्गको घ्याङ्गसिरी भन्ने ठाउँमा पुगी पानी फेला पारी पानी भर्न गाग्रो डुवाउँदा निस्किएको आवाजलाई दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जाँदा श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुवै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरूको आँसुबाट दहको उत्पत्ति भएकाले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्वदन्ती रहेको छ। यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ।

(ङ) श्रवणकुमार समाधि क्षेत्र : स्याङ्जा जिल्लाको बाङ्गसिङ्गको घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको र यस क्षेत्रमा त्रेता युगमा अन्धा बाबुआमालाई बोकी घुम्न आउने क्रममा श्रवण कुमारले चिलाउनेवास अन्तर्गतको अन्धाअन्धी क्षेत्रमा बाबुआमालाई राखी तिर्खाएका बाबुआमाको प्यास मेटाउन पानी खोज्दै जाँदा श्रवणकुमार स्याङ्जा जिल्लाको बाङ्गसिङ्गको घ्याङ्गसिरी भन्ने ठाउँमा पुगी पानी फेला पारी पानी भर्न गाग्रो डुवाउँदा निस्किएको आवाजलाई दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको हो, राजा दशरथ पानी लिएर जाँदा श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुवै जना त्यहीं रुँदारुँदै मरेका हुन्, पछि दशरथले भाञ्जा मारिएको र अण्धाअन्धीको श्रापको दोश मेटाउन उक्त घ्याङ्गसिरीमा यज्ञ समेत गरेको भन्ने भनाइ रहेको छ।

बाण लागि श्रवणकुमारको मृत्यु भएको ठाउँमा निजको घोप्टो परेको आकारमा मूर्ति रहेको छ। पानी भरेको ठाउँमा हाल पनि पानीको रङ्ग रातो रहेको र दशरथ बाण हान्न लुकेर बसेको पहरा समेत बाङ्गसिङ्गको घ्याङ्गसिरीमा रहेको र उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ। उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ। पञ्चासे र श्रवणकुमार समाधि क्षेत्रमा समेत हाल संयुक्त रूपमा पर्यटकीय स्थलको रूपमा विकास गर्ने कार्य भइरहेको छ।

प्रमूख धार्मिक स्थलहरू

(क) स्याङ्जा नुवाकोट – नुवाकोट स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भूभागमा हो। समुन्द्र सतहबाट १९०० मिटरको उचाइमा रहेको यो ठाउँ स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम पनि हो। चौबीसे राज्यमध्येको एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइने, हरियाली वातावरणले घेरिएको यो ठाउँ स्याङ्जा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थल पनि हो। यो एक धार्मिक स्थल पनि हो।

यहाँ रहेको चण्डी माइको मन्दिरलाई देउताहरुको पूजाको विसर्जन गर्ने मन्दिरको रूपमा बुझिन्छ। यहाँ दशैको बेलामा भाकल, पूजाका लागि आएका भक्तजनको विशेष घुइँचो हुने गर्छ। देवी कालिकाको मन्दिर पनि यहाँको विशेष मन्दिर हो, जहाँ दशैंको नवमी, चैते दशैंको बेला कालिकालाई खुशी पार्न बली दिएर पूजा गरिन्छ। यस मन्दिरका मुख्य तथा परम्परागत पूजारी रेग्मी थरका रहेका छन्। भैरबनाथ मन्दिर सबैभन्दा टुप्पोमा रहेको छ। भैरवनाथको मन्दिरका पनि आफ्नै बिशेषता छन्।

_syangja(1)

(ख) राधा दामोदर आश्रम – जिल्लाको साँखरमा पर्ने प्रसिद्ध तीर्थस्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ। यहाँबाट पाल्पाको रामपुर लगायत देशका विभिन्न भागहरुको दृश्यावलोकन गर्न सकिन्छ।

(ग) चण्डीकालीका – यो मन्दिर पुतलीबजारको सतौंमा पर्दछ। यहाँ स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर या गाडीमा पनि जान सकिन्छ। यहाँ विभिन्न तिथिहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। यहाँबाट स्याङ्जा लगायत विभिन्न ठाउँहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ।

(घ) राम्दीघाट – स्याङ्जा पाल्पा सीमानामा रहेको कालीगण्डकी पुलमा राम्दीघाट पर्दछ। प्रसिद्ध धार्मिकस्थल राम्दीघाट सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ।

(ङ) आलमदेवी – शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिकस्थल सदरमुकामबाट दक्षिण पश्चिममा पर्छ। यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वाहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्गमा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ। आलमदेवी नेपाली राजाहरुको कल पूजा गर्ने स्थल पनि हो।

(च) बुढाकोट – स्याङ्जा जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो। गुरुङ बस्ती रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकांश ठाउँ, पाल्पा र पोखरा हेर्न सकिन्छ। पहाडको टुप्पोमा एक मन्दिर छ, जहाँ दशैंमा विशेष भीड हुन्छ।

(छ) कैलाश गुफा – यो गुफा वहाकोटमा पर्दछ। किम्बदन्ती अनुसार पौराणिक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ। यस गुफामा जाने २ वटा प्रवेश मार्गहरु छन्। यस गुफाभित्र आर्कषक देवी देवता र गाईको मुख लगायत गुफाभित्र छ्याङ छ्याङ गर्ने पोखरी पनि छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्