डा. गाेविन्द केसीले तोडे अनसन

govinda kc 1
लाेकपाटी न्यूज

डडेल्धुरा, २६ कात्तिक। चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राख्दै १७ औं पटक अनसन बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन्। केसीले पछिल्लो समय नेपालको सीमा क्षेत्र भारतले अतिक्रमण गरेको खवरले स्तब्ध भएका कारण अनसन तोडेको बताएका छन्।

अनसनस्थल डडेल्धुराबाट विज्ञप्ती जारी गर्दै केसीले भनेका छन्, ‘दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं।

यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग राखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं। यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।

सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन्। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ।’