राजेन्द्र बिक/बाजुरा, २६ कात्तिक। हिमाली गाउँपालिका ६, पाँडी गाउँका प्रेमलाल भण्डारीले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना बित्यो। उनको मोबाइलमा घण्टी बज्न छाडेको त वर्ष नाघिसक्यो। घरबाहिर रहेका आफन्तसँग फोन सम्पर्क गर्न एक घण्टा उकालो चढेर पानीमेला डाँडामा पुग्नु पर्ने बाध्यता छ।
पाँडी गाउँ र कोल्टी क्षेत्रलाई लक्षित गरेर स्काईको टावर पनि बनाइएको थियो। तर उक्त टावर बिग्रिएको दुई वर्ष बित्दा पनि यसको मर्मतमा कसैले चासो दिएका छैनन्। टावर मर्मत नहुँदा यहाँका सर्वसाधारण सञ्चार विहीन भएका हुन्। बाजुराको अति दुर्गम क्षेत्रमा पर्ने यस गाउँमा १ सय ५७ परिवारको बसोबास रहेको छ।
तर यहाँ फाटफुट अग्लो ठाउँबाहेक अन्यमा मोबाइल सेवाको पहुँच नभएको उनले बताए। पाँडी गाउँलाई चारैतिर पहाडले घेरेको छ। दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावर पनि बिग्रेपछि यहाँका मानिसलाई फोन सम्पर्क गर्न समस्या भएको धिकार कर्मी गोरख सार्की सुनाउँछन्।
उहाँका मानिसहरूलाई घरबाहिर रहेका आफन्तजनसँग फोन सम्पर्क गर्न डाँडामा चढ्नुको विकल्प छैन।
पाँडी गाउँका आसपासका क्षेत्र बिछ्च्याँ र गुम्लु भन्ने ठाउँमा नेपाल टेलिकमको नमस्तेका दुई वटा टावर छन्। ती टावरले समेत काम नगर्ने स्थानीय विश्वखर कामीले बताए। विकासको दृष्टिले उपेक्षित धेरै पछाडि रहेको यस क्षेत्रका मानिसलाई राज्यले फोन सेवाबाट पनि वञ्चित राखेकोले दुःख लागेको स्थानीय प्रेमलाल भण्डारीले बताए।
‘हाम्रो लागि देशमा तीन तहका सरकार छन् तर हामीलाई कुनै पनि सरकारको अनुभूति भएको छैन,’ उनले भने। फोन सेवा सञ्चालनको लागि स्थानीय सरकारले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ।



लाेकपाटी न्यूज
