मुस्ताङ, २५ कात्तिक। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ।
नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो। पैँतिस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी महेन्द्र गुरुङले बताए। विद्युत सुविधा नभएकाले सौर्य ऊर्जा जडान गरेर टावरमा विद्युत् आपूर्ति गराइएको छ। यसअघि यहाँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित थिए।
अहिले उनीहरूलाई फोन गर्न अग्ला डाँडा र टावरले टिप्ने छिमेकी गाउँ पुग्नुपर्ने बाध्यता हटेको छ। उक्त गाउँपालिकाका अध्यक्ष राजु विष्टले उक्त सेवा शुभारम्भ गर्दै ताङग्यामा यसै वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिने बताए। उक्त गाउँपालिकाको ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँमा अझै सञ्चार सुविधा पुगेको छैन्। यसैवर्ष यी बस्तीमा मोबाइल सेवा विस्तार गरिने उक्त शखाले जनाएको छ।



रासस न्यूज

