कास्की, २४ कात्तिक। कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले (अहिले राष्ट्रिय नागरिक पार्टी) को तर्फबाट उम्मेदवारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्त विक्रम शाह गरी तीन जनाको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ।
अब त्यहाँ २२ जना उम्मेदवार रहेका छन्। कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। यस्तै, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, काङ्ग्रेस९बीपी०का चन्द्रबहादुर रानाभाट, साझा पार्टीकी रजनी केसी, नेकपा(माले) का टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका मूख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ।
आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराएका छन्।



लाेकपाटी न्यूज

