काठमाडौं, २४ कात्तिक । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन्। वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुने छन्।
सो कार्यक्रम पश्चात पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उनका नीजि सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। त्यस्तै कार्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागि हुने छन्।
पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण सुरु झापाबाट गर्ने कार्यक्रम रहेको छ। उनले कार्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसैगरि, कार्तिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्ने छन्।
त्यसैगरि कार्तिक ३० गते इलामबाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मंसीर १ गते पाँचथरबाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ।



लाेकपाटी न्यूज

