अरुण गाउँपालिका : सबै वडामा नेकपाको पार्टी कार्यालय उद्घाटन

pic 3
लाेकपाटी न्यूज

भोजपुर, २४ कात्तिक। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिकाले एकै साथ सातै वडामा पार्टी कार्यालय उद्घाटन तथा ५४ वटै टोलहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला कमिटीस्तरीय नेताहरुको नेतृत्वमा गाउँ विकास समिति स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको हो।

जसअन्तर्गत वडा नम्बर १ याङ्पाङमा नेकपा भोजपुर जिल्ला सचिवालय सदस्य तथा गा.पा.अध्यक्ष बलभद्र राई, वडा नम्बर २ चम्पेमा जिल्ला कमिटी सदस्य सुरेन्द्र श्रेष्ठ, वडा नम्बर ३ प्याउलीमा जिल्ला सचिवालय सदस्य तथा गा.पा. सह-ईञ्चार्ज बबिन्द्र रसाइली, वडा नम्बर ४ चरम्बीमा जिल्ला सचिवालय सदस्य तथा गा.पा. ईञ्चार्ज शिवराज सापकोटा, वडा नम्बर ५ याकुमा जिल्ला कमिटी सदस्य तथा गा.पा. सचिव नारायण घिमिरे, वडा नम्बर ६ जरायोटार र वडा नम्बर ७ सिक्रेटारमा जिल्ला कमिटी सदस्य कुमार थापाको प्रमूख आतिथ्यता र नेतृत्वमा सो उद्घाटन तथा शपथ ग्रहण कार्यक्रम भएको हो।

दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकतालाई जनस्तरसम्म पुर्‍याउन र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार र गलत कामको भण्डाफोर गर्नका लागि कार्यक्रमलाई तीव्रता दिइएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा अरुण गा.पा. अध्यक्ष बलभद्र राईले बताए । उनले एक नेता एक झण्डा, एक बजार एक प्रचारको नारालाई पनि यही कात्तिक मसान्तसम्ममा कडाईका साथ कार्यान्वयन गर्न गराउन लागि परिरहेको समेत जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक कार्यक्रमलाई प्रमूख अतिथिहरुले सम्बोधन गर्दै महत्त्वपूर्ण प्रशिक्षणात्मक भनाई राखेका थिए। उक्त कार्यक्रममा गा.पा. भरिमा शनिबार एकैसाथ करिव ६०० जना नेता तथा कार्यकर्ताहरुलाई प्रमूख अतिथिबाट सपथ ग्रहण गराइएको जिल्ला कमिटी सदस्य तथा गाउँपालिका सचिव नारायण घमिरेले जानकारी दिए।