एजेन्सीको । फेसबुकले फेरि एकपटक माफी मागेको छ। यो पटक आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेको हो।
सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत् आफूहरुमाथि जातीय रुपमा विभेद भएको गुनासो गरेसँगै फेसबुकले माफी मागेको हो। फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरुमाथि जातिय रुपमा भेदभाव हुने गरेको ती कर्मचारीहरुको गुनासो रहेको छ।
फेसबुकको कर्पोरेट सञ्चार विभागका उपाध्यक्ष बेर्टी थोम्सनले विज्ञप्तिमा भनेका छन्, ‘फेसबुक मात्र होइन कहीँ कतैपनि कसैलाई यस्तो व्यवहार सैह्य हुन सक्दैन। हामी दुखी छौँ। यो व्यवहार एउटा कम्पनीको रुपमा हामीले राख्ने मान्यता भन्दा विपरित हो । हामीले निरन्तर गुनासोहरु सुन्दै सुधारका लागि कडा मेहेनत गरिरहेका छौँ ।’
फेसबुकका ती वर्तमान तथा पूर्वकर्मचारीहरुले आफ्ना ब्लग पोष्टहरुमा फेसबुकमा काम गर्दा म्यानेजरहरु, जनसम्बन्ध व्यवसायिक साझेदार तथा गोरा सहकर्मीहरुबाट हुने व्यवहार सम्बन्धी आफ्ना अनुभव लेखेका थिए। साथै उनीहरुले ब्लग पोष्टमा आफूहरुले नाम नखुलाउनुको कारण समेत उल्लेख गर्दै फेसबुकमा गोरा बाहेकका कर्मचारीहरुले आफ्नो गुनासो सुनाउँदा आफ्नो जागिरको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
फेसबुकमा जिम्मेवारी, मूल्यांकन तथा समिक्षाका विषयमा गोरा र अन्य वर्णका कर्मचारीहरुबीच समता नभएको पनि उनीहरुले बताएका छन् । साथै उनीहरुले फेसबुक कम्पनीमा काम गरिरहँदा आफूहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पुगेको पनि उल्लेख गरेका छन्।
फेसबुकका हाकिहरु तथा मानवश्रोत विभागका प्रतिनिधिहरुबाट हुने उपेक्षा, खराब तथा आक्रामक व्यवहारका कारण आफूहरुको शारीरिक तथा मानिसक स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको र काम गर्नै नसक्ने वातावरणको सिर्जना भएको उनीहरुको भनाइ छ ।
फेसबुकमा आन्तरिक रुपमै समस्यामा परिरहेको बेला बाह्य रुपमा समेत समस्या पर्ने जोखिम उठाउन आफूहरुले नचाहेको उनीहरुको भनाइ छ। फेसबुकमा अन्याय हुँदाहुँदै पनि आफुहरुसँग श्रोतको अभावमा फेसबुक विरुद्ध कुनै कदम चाल्न नसक्ने अवस्थामा रहेको पनि ती कर्मचारीहरुले बताएका छन्।



लाेकपाटी न्यूज

