ऐतिहासिक प्रमाणका आधारमा सीमा निर्धारण गर्छौं

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, २४ कात्तिक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले
मित्रता र सर्वभौमसत्ता फरक विषय भएको बताएका छन्। बनेपा नगरपालिका ४ नालामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका हुन्।

‘मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन’, मन्त्री बाँस्कोटाले भने। सीमा विवादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो ।

‘छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ’, मन्त्री बाँस्कोटाले भने। सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताए।

‘सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ ।’ ‘सत्यको अघि झुट टिक्दैन, न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ ’ उनले भने ।

‘सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ’, उनले भने। वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उनको भनाइ थियो।

करीव दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए। मन्त्री बाँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्