डिपी ढकाललाई मन्त्री बनाउँछौं : वामदेव गौतम

Bamdev gautam
लाेकपाटी न्यूज

काठमाडौैं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न नसकेको आरोप लगाएका छन्। भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार देवीप्रसाद (डीपी) ढकालको उम्मेदवारी दर्तापछि आयोजना भएको सभालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो आरोप लगाएका हुन्। प्रदेशसभामा भक्तपुर १ (क)बाट उम्मेदवार बनेका ढकाललाई चुनाव जिताएर पठाउन नेता गौतमले आव्हान गरे।

साथै, ढकाललाई भक्तपुरबासीले जिताएर पठाएपछि मन्त्री बनाएर पठाउने जिम्मा आफ्नो भएको उनले बताए। सम्बोधनको क्रममा उनले भने ‘तपाईहरु डिपी ढकाललाई प्रदेशसभा सदस्यमा जिताएर पठाउनुस् यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो। त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’ उनले सम्बोधनको क्रममा प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन्।

प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए। अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि सुरु भएको दावी गरे । गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ। सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन्।