काठमाडौं, २० कार्तिक। खानेपानी मन्त्री बिना मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोट व्यक्त गरेकी छिन्। बुधबार आयोजनाको प्रगति बुझ्न मेलम्ची पुगेकी मन्त्री मगरले सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब मेलम्चीबारे दुविधा नराख्न आग्रह गरेकी हुन्।
स्थलगत निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री मगरले भनिन्, ‘मेलम्ची हाम्रो राष्ट्रिय गौरवको आयोजना हो, नेपालको प्रतिष्ठाको आयोजना पनि हो। तर, निर्माणको जिम्मा लिएको सिएमसी कम्पनिले एक्कासी हात झिक्दा हामीले अप्रत्याशित परिस्थितिको सामना गर्नुपर्यो। अहिले त्यो परिस्थिति अन्त्य भएको छ, सबै अवरोध छिचोलेर मेलम्चीको काम अघि बढेको छ। अब मेलम्चीबारे आशंका गर्न जरुरी छैन।’
‘सिएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टिएका कारण आयोजनाबारे हात झिक्यो’ मेलम्चीको पछिल्लो प्रगतिबारे जानकारी दिँदै मन्त्री मगरले भनिन्, ‘हामीले नसोचेको परिस्थिति झेल्यौं, अब त्यो अवस्था छैन। नयाँ कम्पनिले आयोजनाको ठेक्का लिएपछि निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। हामीले रातदिन नभनी मेलम्चीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं। तसर्थ, हरहालतमा मेलम्ची आउँछ, अब शंका नगरौं।’
मेलम्ची खानेपानी आयाेजनामा भइरहेकाे कामबारे जानकारी लिन मन्त्री बिना मगर मेलम्चीमा।
Posted by Lokpati.com on Wednesday, November 6, 2019
मंगलबार संसदको विकास समितिकी सभापति कल्याणी खड्कासहितको संसदीय टोली मेलम्ची पुगेको थियो। त्यसको भोलिपल्ट मन्त्री मगरको टीम आयोजनाको स्थलगत निरीक्षण र प्रगति बिवरण बुझ्न मेलम्ची पुगेको हो। मन्त्री मगरसँगै खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे पनि मेलम्ची पुगेका थिए। अनुगमनपछि मन्त्री मगरले रफ्तारमा आयोजनाको काम अघि बढाउन मेलम्ची खानेपानी आयोजना विकास समितिलाई निर्देशन दिएकी छिन्।
२१ डिसेम्वर २०१८ मा निर्माण कम्पनिले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्यौलमा परेको थियो। त्यसलगत्तै नेपाल सरकार र मन्त्रालयले आयोजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न विभिन्न बिकल्पहरुमा छलफल गरेको थियो। मेलम्ची विकास समितिले ग्लोवल टेण्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनिसँग सम्झौता गरेको थियो। सम्झौतापछि ठेकेदार कम्पनिले निर्माणको काम अघि बढाएको हो।
मेलम्ची खानेपानी आयोजनामा हेड वर्क्सका लागि ठूला ढुंगा फुटाउने काम यसरी भइरहेको छ, भिडियोमा हेर्नुहोस्।
Posted by Lokpati.com on Wednesday, November 6, 2019
गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम चिनियाँ ठेकेदार कम्पनि सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो। मेलम्चीको बाँकी काम रु. १ अर्ब ८७ करोडमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ। चिनियाँ कम्पनिले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गरेको छ।
निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनिले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो। निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ। अघिल्लो ठेकदार कम्पनि सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो।

सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ। तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ। कम्पनिले आयोजनाको निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनिले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार ब्लाचिङ् प्लानका लागि ३० घनमिटरको मेशिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ। त्यसैगरि हेड वर्क्स् क्षेत्रमा रहेका ठूला ढुंगा फुटाउने काम पनि भइरहेको छ। असोज २६ गतेबाट आयोजनाको काम सुरु गरेको ठेकेदार कम्पनिले २ सिफ्टमा निर्माण कार्य अगाडि बढाउने निर्णय गरिरहेको श्रेष्ठले बताए।




लाेकपाटी न्यूज

