काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भू-भागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन्।
उनले भने, ‘कालापानी नेपाली भ–ूभाग हो। ऐतिहासिक तथ्यले पनि त्यही भन्छ। हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ। कालापानीलगायत सबै सीमा विवाद टुँग्याउनुपर्छ।’ साक्षात्कारमा बोल्दै उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। अर्को विकल्प छैन्।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले बताए।
सीमा विवादबारे दुबै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाइ छ। उनले भने, ‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ।’ सरकारले जि.पि.एस. प्रणालीमार्फत् सीमा व्यवस्थित गर्न गैरहेको पनि बताए। उनले भने, ‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ, उनीहरुले अध्ययन गरिरहेका छन्।’
नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको उनले बताए । उनले भने, ‘कतिपय पिलरहरु हराएका छन्। जमिन अतिक्रमण भएका छन्।’ नेपाल र भारत दबैतर्फ रहेका स्थायी संयन्त्रमार्फत् सीमा विवाद समाधान गर्नुपर्ने बताए।
त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सीमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए। उनले भने, ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं। ईपिजीको प्रतिवेदन छिटो बुझ्नुपर्छ। यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ।’
उनले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरि सरकार अघि बढ्ने विश्वास दिलाए। नेपाल र भारत दुबै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत् समस्याहरु समाधा गर्नुपर्ने धारणा राखे । र, यही कुरा चीनसँगपनि लागु हुने उनको भनाइ छ।



लाेकपाटी न्यूज

