देवघाट क्षेत्र जोड्ने पदमार्ग अन्तिम चरणमा

लाेकपाटी न्यूज

चितवन, १९ कात्तिक। दुई धार्मिक पर्यटकीय क्षेत्र मौलाकालिका र देवघाट क्षेत्र जोड्ने पदमार्गको काम अन्तिम चरणमा पुगेको छ। धार्मिक पदमार्गको रुपमा निर्माणाधीन उक्त पदमार्ग चालू आर्थिक वर्ष्भित्रै सक्ने गरी काम भइरहेको पदमार्ग निर्माण समितिले जनाएको छ।

करिब साँढे तीन किलोमिटर दूरी रहेको उक्त मार्गको निर्माणपछि देवघाट दर्शन गर्न आउने पर्यटकले देवघाटबाट सीधै मौलाकालिका मन्दिरको पनि दर्शन गर्न सक्छन्। देवघाटधामदेखि मौलाकालिका हुँदै मणि मुकुन्दसेनको भग्नावशेष दरबारसम्म जोड्नका लागि उक्त मार्गले विशेष अर्थ राख्ने हुँदा सिमेन्टको सिँढी बनाएर बाटो सहज बनाउन लागिएको र पर्यटकहरुको लागी राम्रो हुने धार्मिक सेवा समिती मौलाकालिकाका पुर्व अध्यक्ष बिष्णुहरी रिमालले बताए।

उक्त मार्गको अवधारणा करिब २०५३र०५४ को हो। देवघाट क्षेत्र विकास समितिले दुई दशकअघि नै गुरूयोजना बनाएपनि बजेट अभावले गर्दा समयमै काम गर्न नसकेको भएपनि अहिले देवघाट क्षेत्र बिकास समितीको ४ लाख र पर्यटन कार्यालय पोखराको १० लाख रुपैयाँको सहयोगमा काम तीब्र गतिमा अघि बढेको मौलाकालिका देवघाट पदमार्ग निर्माण समितीका संयोजक टंकनाथ पौडेलले जानकारी दिए।

अहिले बन्दै गरेको पदमार्गमा भने एकतर्फी स्टीलको रेलिङ राख्ने योजनाअनुसार काम भइरहेको छ। संस्कृति तथा पर्यटन मन्त्रालयबाट आएको बजेटले काम भइरहेको हो।

निर्माण सम्पन्न हुने बेलासम्ममा करिब एक करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । देवघाटधाममा चितवन, तनहुँ र नवलपुर जोड्ने गरी त्रिकोणात्मक पुल निर्माणको अवधारणा अगाडि बढेकोले पदमार्गलाई थप सहज हुने बिश्वास लिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्