काठमाडौं, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमूखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन्। बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भन्ने हुनाले उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो।
अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ। यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो। यसलाई ठूलो ठान्नु पर्ने विषय होइन।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रदेश प्रमूखहरुको नियुक्तीबारे पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपालको नोट अफ डिसेन्टलाई सामान्य रुपमा लिएको बताएका छन्।
प्रचण्डले भने, ‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो। र, त्यसमा जोड दिनुभएको थियो। त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो। उहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ।’



लाेकपाटी न्यूज

