गुठीको जग्गा बचाएर, सुशासन कायम गर्नुहोस् : मन्त्री अर्याल

Padma
लाेकपाटी न्यूज

काठमाडौं, १७ कात्तिक। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी छिन्। गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई आज (आइतबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो आग्रह गरेकी हुन्। 

मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिइन्। मन्त्री अर्यालले गुठियाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशिल भएको भन्दै गुठियारालाई देखाएर व्यक्तिको नीजि स्वार्थलाई पूरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको बताइन्।

सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् है भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवारी रहेको बताइन् । संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ती गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताइन्।

आजसम्मका कामको समिक्षा गरेर एउटा निष्कर्ष निकालेर अगाडि बढ्न संस्थानको नेतृत्वलाई निर्देशन दिँदै मन्त्री अर्यालले संस्थानबाट सम्पादन भएका काम कति पूरा भए कति भएनन् भनेर आत्मसमिक्षा गरेर अगाडि बढ्न निर्देशन दिइन्। संस्थानको कार्यक्षेत्रका अस्तव्यस्तता, सुशासनसँग जोडिएका विषयहरू हेर्दा चिन्ता लाग्ने अवस्था रहेको भन्दै उनले नेतृत्वले काम बेस्सरी गरेका छौं भन्दा पनि जनमानसले विश्वास नै गर्ने अवस्था नबनेको बताइन्।

संस्थान गठन भएको ५५ वर्ष पुरा हुदासमेत गुठिको सम्पत्ति यति हो भनेर भन्न सक्नु दुःखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन्। ’नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो।

यो गठन भएको ५५ वर्ष पूरा भएको छ तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौं’, उनले भनिन्, ’कहाँ-कहाँ कति कति मिचियो ? त्यसको बारेमा कुनै रेकर्ड छैन । अब कित्ताअनुसार रेकर्ड । कित्ता छुट्याएर राख्ने, व्यवहारमा कार्यान्वयन गर्ने गरी लाग्नुस ।’गुठी भावनासँग जोडिएको कुरा भएको भन्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने दायित्व गुठी संस्थान सम्हालेर बसेकाहरूको भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्