दाङमा ट्याक्टर दुर्घटना, तीनको ज्यान गयो

tractor pic
लाेकपाटी न्यूज

दाङ, १५ कात्तिक। दाङमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दाङको चिसापानीमा आज भएको ट्याक्टर दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो। दाङको गढवा गाउँपालिका ६ मनिकापुरबाट वनभोज खाएर चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा गढवा ६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन्। तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए । वनभोज खाएर फर्कने क्रममा कोइलावास सडकको चिसापानी नजिकै सो दुर्घटना भएको हो।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्