काठमाडौं, १५ कात्तिक। जबरजस्ती करणी उद्योग (याैन दुर्व्यवहार)को अभियोग लागेका तात्कालिन सभामूख कृष्णबहादुर महराको अदालती बयान शुरु भएको छ ।महराको केही समय अगाडिदेखि मात्रै काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु गरिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिन शुरु गरिएको काठमाडौं जिल्ला अदालत स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार महराको बयान सकिए सम्भवत आजै थुनछेक बहस शुरु हुनेछ ।
थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटी तिराइ तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्ष गर्ने भनेर आदेश जारी गर्ने छ ।
प्रहरीको झन्डै १ महिना लामो अनुसन्धान पछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योग र ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकतम ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।



लाेकपाटी न्यूज

