काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामूख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ। महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।महरामाथि जबरजस्ती करणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय माग दाबी गरिएको छ।
जसमा जबरजस्तीकरणी उद्योग र फौजदारी कसुर सजायको माग गरिएको छ। फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो। यो दुबै जोड्दा महरामाथि साढे ७ वर्ष कैद माग दाबी गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।
सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको महरामाथि आरोप लागेको हो। महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। गत असोज १८ गते महरा पक्राउ परेका थिए। उनीविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामूख निवासबाटै पक्राउ परेका थिए।



लाेकपाटी न्यूज

