काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यका भित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भइरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ।
नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुका १ सय ५० वटा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए। ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भइरहेको चुहावट मर्मत सकेका छौं’ महाप्रबन्धक शाक्यले भने, ‘खानेपानी वितरणमा समस्या आएपछि केयुकेएलका प्राविधिक टोलीले यति छोटो समयमा धेरै ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको छ। यसलाई आगामी दिनमा निरन्तरता दिंदै जानेछौं।’
केयुकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो।
‘पुरानो पाइपलाइनमा प्रेसर बढ्नाले धेरै ठाउँहरुमा चुहावट देखिएको हो।’ महाप्रबन्धक शाक्यले भने, ‘ती चुहावटहरुको योजनाबद्ध तरिकाले मर्मत सकिएको छ। मर्मत सकिएपछि खाल्डो राम्ररी पुरी सडकको अस्थायी पिच गर्ने काम पनि हामीले सकेका छौं। चुहावट रोकिएपछि आम उपभोक्ताको घर घरमा अब पानीको आपूर्ति मात्रा बढ्नेछ।’
खानेपानी मन्त्री बिना मगरको विशेष निर्देशनपछि केयुकेएलले लिकेज पाइपहरुको मर्मत कार्यलाई तीव्रता दिएको हो। मर्मतका क्रममा मन्त्री मगरले विभिन्न स्थानमा भइरहेका मर्मत कार्यको अनुगमनसमेत गरेकी थिइन्।






लाेकपाटी न्यूज

