रुकुम। नेपाली कांग्रेसका जिल्ला सदस्य सहित ६० बढी नेकपामा प्रवेश नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सदस्य सहित ६० बढीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’को विशेष उपस्थितिमा जिल्लाका विभिन्न ठाउँमा भएका जनभेटघाट र कार्यकर्ता प्रशिक्षण कार्यक्रमबाट नेपाली कांग्रेस परित्याग गरी ६० बढीले नेकपामा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेसका जिल्ला सदस्य त्रिवेणि गाउँपालिका १० का भुपालसिंह ओलीले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ले जानकारी दिए। उनका अनुसार त्रिवेणी ६ का कुवेर ओली, धनसिंह ओली र इन्द्र ओली सहित ५२ जना नेकपामा प्रवेश गरेका छन्।
त्यस्तै आठबीसकोट नगरापालिकाका कविराम बुढाथोकी सहित एक दर्जन कांग्रेस कार्यकर्ताले नेकपामा प्रवेश गरेको अध्यक्ष अनलले बताए। नवप्रवेशी नेता कार्यकर्तालाई पूर्व गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज शर्माले पार्टी प्रवेश गराएका हुन्।
नेकपाले पछिल्लो एक हप्तामा जिल्लाका बाँफिकोट गाउँपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका विभिन्न ठाउँमा जनभेटघाट र स्थानीय तहस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।



लाेकपाटी न्यूज

