काठमाडौं, १३ कात्तिक। महाराजगञ्जस्थित एक जुवाखालबाट पक्राउ परेका ‘भिआइपी जुवाडे’लाई अदालत लगिएकाे छ। गएकाे शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ मध्ये ६ भिआइपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको हाे।
उनीहरुले गैरकानूनी थुनामा राखिएको दाबी गदै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई अदालत लगिएको जनाइएकाे छ। । भाइटीका अघि नै छुट्ने आशामा सर्वोच्च पुगेका उनीहरुको मुद्दा गत सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो।
अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। तिहारभर थुनामा बस्नुपर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए।
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।



लाेकपाटी न्यूज

