‘म प्रधानमन्त्री हुँदा किसानको ऋण मिनाहा गरेको थिएँ’

Prachanda Photo
लाेकपाटी न्यूज

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन्।

सोमबार नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।”

उनले सरकार पटकपटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे। उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए।

अध्यक्ष दाहालले नेपाल संंवत्लाई नेवारहरुको मात्र सम्वत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा सम्वतका रूपमा लैजानुपर्ने औँल्याए। उनले यसलाई राष्ट्रिय सम्वतका रुपमा स्थापित गरेर नेपालको मौलिक पहिचान बनाउनुपर्नेमा जोड दिए।

आफू प्रधानमन्त्री हुँदा नेपाल सम्वतलाई राष्ट्रिय सम्वत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष दाहालले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु. ३० हजारको ऋण मिनाहा गरिदिएको बताए।

२०६५ सालमा तात्कालीन एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा कृषि विकास बैंकमा रहेको किसानको रु. तीस हजारसम्मको ऋण मिनाहा गरेका थिए। साथै रु. एक लाखसम्मको ऋणको ब्याजसमेत मिनाहा गरिएको थियो।