बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवमध्ये तीनजना भियतनामी नागरिक भएको पत्ता लागेको छ। बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन्।
२६ वर्षीया फाम थीट्रा माइले लेखेको सन्देश थियो, ‘आमा बुवा, मेरो विदेशयात्रा असफल भयो, म साँच्चै माफी चाहन्छु।’ ‘सास फेर्न सकिनँ म मर्दैछु, आमा बुवा म तपाईहरुलाई साँच्चै धेरै माया गर्छु।’ उक्त मेसेज पठाएपछि परिवारले उनीसँग सम्पर्कविहिन भएको जनाएको छ। समाचार एजेन्सीहरुले माईलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन्। माइले मानव तस्करहरुलाई बेलायत पुग्न ३० हजार पाउन्ड तिरेको परिवारका सदस्यलाई उदृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन्।
माइको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो। बेल्जियमबाट प्रस्थान गरेपछि उनले म्यासेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृत हुनसक्ने परिवारको आशंका छ । माइको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो। उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन्। २० दिनको यात्रामा उनीहरु बेलायत पुगे पनि अन्तमा ज्यान गुमाउन पुगेका थिए।
प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ। रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो। निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ। कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो।
बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ शव बरामद भयो। जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए। सबैजना चिनियाँ नागरिक भएको भनिए पनि अन्य देशका नागरिक समेत भेटिएका छन्।
घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन्। उनी उत्तरी आइरल्यान्डका हुन्। रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ। एजेन्सीको सहयोगमा।



लाेकपाटी न्यूज

