सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्‍याेः सभापति देउवा

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

काठमाडौं, १० कात्तिक। प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेकाे बताएका छन्।  नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका हुन्।

वर्तमान सरकारले विभिन्न षड्यन्त्र रचिरहेकाे भन्दै उनले त्यस्ता षडयन्त्रलाई निष्तेज पार्ने गरी तयारी अवस्थामा रहन पार्टीका तरुण तथा विद्यार्थीहरुलाई निर्देशन समेत दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएकाले सोही अनुसारको जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन पनि तरुण दललाई सचेत गराए ।

उनले भने, ‘नेपाली जनताको स्वाभिमानका साथ बाँच्न पाउने जो अधिकार छ, मुलुकको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नुपर्ने कामहरु गर्नुपर्ने बेला आएको छ। सो जिम्मेवारी पूरा गर्न पार्टीका तरुण र युवा विद्यार्थीहरुलाई तयार रहन म आग्रह गर्दछु ।’

सभापति देउवाले ६६ वर्षअघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरि निरंकुशता लादेको पनि स्मरण गराए ।