समृद्ध गण्डकी प्रदेश निर्माण अभियानले तीव्रता पाउँदैछ : सांसद रोका

लाेकपाटी न्यूज

थम्मन थापा/बागलुङ, १० कात्तिक। गण्डकी प्रदेशका सांसद दिलमाया रोका दीपाले गण्डकी प्रदेश सरकारले समृद्ध गण्डकी बनाउन निती तथा कार्यक्रम अगाडि बढाएको बताएकी छिन्। जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समापन समारोहमा बोल्दै प्रमूख अतिथी रोकाले यस्तो बताएकी हुन्।

उनले गण्डकी प्रदेश सरकार कृषि पर्यटन, पूर्वाधार विकास र सुखी नेपाली समृद्ध नेपाललाई आत्मसाथ गर्दै अघि बढेको उल्लेख गरिन्। त्यसको लागि आम जनतालाई सरकारको अभियानमा हातेमालो गरी सहयोग गर्न अपिल समेत गरिन्। मेलामा आयोजित साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगमा नगद रु २५ हजार हात पार्दै सनसाईन युथ कल्व हटिया प्रथम र आयोजक द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।

रस्साकसी प्रतियोगितामा आयोजक टीम ए प्रथम र आयोजक टीम बि द्वितीय भएका छन् । त्यस्तै मेलामा खुल्ला एकल नृत्य प्रतियोगिता र तिहारे भाइमाला उन्ने प्रतियोगिता पनि सम्पन्न भएको छ ।

मेलामा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक वसन्त थापा, निशा श्रीस, कुलबिर थापा, सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो । मेलाको अवसरमा प्रायोजक, चन्दादाता, सहयोगी, कलाकार, पत्रकार लगायतलाई सम्मान समेत गरिएको थियो ।

मेला जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत र सचिव कोपिला खड्का, सहसचिव राजकुमार दर्जी र खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

‘नेपालीको गर्व उज्यालो पर्व, दरम घुम्टे, सबैको सान खेल कला संस्कृति, हाम्रो स्थानीय पहिचान’ भन्ने मूल नारासहित गत कार्तिक ७ देखि शुरु भएको मेला शनिवार सम्पन्न भएको थियो । २०७० सालदेखि निरन्तर रुपमा कला संस्कृति र खेलकूद लगायत सामाजिक रुपमा संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्