काठमाडौं । नेपाल भित्रभन्दा नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र नेपाल शाखाले आयोजना गरेको ‘काव्य विमर्श तथा कवि गोष्ठी’ कार्यक्रममा उप्रेतीले यस्तो बताएका हुन् ।
नेपाली आवाज र सामथ्र्यलाई विश्वमा पुर्याएको उल्लेख गर्दै उल्लेखनीय काम गर्नेहरूको सूचना आफूले राखेको र साझेदारीको रूपमा काम गर्ने कुलपतिले बताए । कविता पाठ गराएर कार्यक्रम श्रवणीय भएकोले कार्यक्रम महत्वपूर्ण बनेको पनि उप्रेतीको भनाई थियो ।
त्यसैगरी, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले विश्वमा रहेका नेपालीहरूले नेपाली भाषा साहित्यसँग नजिक रहेर काम गरिरहेको बताएका थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले विश्वका विभिन्न मुलुकमा छरिएर साहित्यसँग सदैव साथ रहेको बताए ।
कार्यक्रममा महासंघको प्रकाशन ‘साहित्य संसार’ पुस्तक विमोचन गरिएको थियो । त्यसपछि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, मनप्रसाद सुब्बा र भीम विरही राईलाई साहित्यदूत सम्मान अर्पण गरिएको थियो । विश्व नेपाली साहित्य महासंघले प्रदान गर्दै आएको साहित्यदूत कञ्चनजंगाबाट सम्मानीत हुनु भएको प्रा.डा. टंकप्रसाद न्यौपानेले मान्छे जहाँ गए पनि भाषा र साहित्य त्यहीँ जाने भएकोले विश्वमा छरिएर रहेका साहित्यकारहरूलाई एकजुट बनाएर साहित्यको उन्नति गर्ने कार्यले आफूलाई खुसी लागेको बताए ।
प्राध्यापक डा. गोविन्दराज भट्टराईले सुरेन्द्र लिम्बू परदेशी सँधै नेपाली साहित्यको चिन्तामा लागिरहने श्रष्टा रहेको बताए । हरेक बर्ष केही न केही लिएर आउने गरेको, विश्व नेपाली साहित्यलाई फल्न फुलाउन सहयोग गरेको उल्लेख गरे ।
विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले पश्चिमी भाषा साहित्यको अनुशरण नगरी साहित्य सिर्जना नहुदा आफ्नो भाषा र साहित्य ओझेल पर्दै गएको बताए । भाषा र साहित्य जोगाउँदै लैजाने त्यसमा नेपाल प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने अपेक्षा रहेको पनि बताए । आउदो बर्ष साहित्य सम्मेलन गर्ने तयारी रहेको लिम्बूको भनाई थियो ।
कार्यक्रममा सीता तुम्खेवा, रमी श्रेष्ठ, समाश्री रावत, प्रगति राई, सीता भटराई, उर्मिला पाण्डेय, प्राज्ञसभा सदस्य नन्दु उप्रेती, एलाक अभियान्ता डम्बर पहाडी, भावना न्यौपानेलगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा महासंघका साहित्य संचार संयोजक रमेश कँडेलले स्वागत मन्तव्य र सल्लाहकार सागर श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।



लाेकपाटी न्यूज

