शान्ति, स्थिरता र सुशासनको बाटोमा अग्रसर छाैंः मुख्यमन्त्री राई

लाेकपाटी न्यूज

काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल सुखी नेपालीको यात्रा तय भइसकेकाले कुनै अलमलबिना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताएका छन्।

भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै प्रमूख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोही अनुसार काम गरिरहेको बताए। उनले हाम्रो यात्रा गति अलि धीमा भएपनि कानून र प्रशासनिक संरचना निर्माणमा समय लागेकाले यसलाई अन्यथा रुपमा लिनु नहुने पनि बताए।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरेर प्रदेशमा समृद्ध ल्याउने पनि बताए । यसका लागि आफूहरुले कानून निर्माण गरिसकेको पनि उनले बताए।

उनले विश्वमा जहाँसुकै वसेका भएपनि भोजपुरवासीले आफूले सिकेको सीप प्रदेश १ निर्माण र देश निर्माणमा लगाउन पनि आह्वान गरे । मुख्यमन्त्री राईले भोजपुरमा पनि विस्तारै मध्यपहाडी राजमार्ग कालोपत्रे गर्ने र विमानस्थल–भोजपुर मार्ग कालोपत्रे गर्ने काम भइरहेको बताए । त्यस्तै, भोजपुरमा रंगशाला, टेम्केमा भ्यूटावर निर्माण, अरुण, दूधकोशी आदि नदीमा भोजपुर जोड्ने ठूला पुलका योजना रहेको पनि उनले बताए।

कार्यक्रममा नेकपा नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, पूर्वमन्त्री शंकरप्रसाद कोइराला, नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, समाजका पूर्व अध्यक्ष दयाकृष्ण न्यौपाने, समाजका अध्यक्ष शेर्पालगायतले आउन लागेका तिहार, छठ, नेपाल संवतको नयाँ वर्ष, उधौली र ल्होसार आदिको शुभकामना दिएका थिए।

कार्यक्रममा कलाकार व्रता गन्धर्वले सारंगी धुनसहित गीत प्रस्तुत गरेकी थिइन् भने कलाकार राजा राजेन्द्र पोखरेल, श्रीकृष्ण सिंखडाले हास्यव्यंग्य, गायक कृष्ण समीप, गायिका लीला राई, गायक भीषण मुकारुङ र राज सागर आदिले गीत तथा विभिन्न कलाकारहरुले आकर्षक देउसी–भैलो प्रस्तुत गरी समारोहलाई पूर्वेली लोकसंस्कृतिले उल्लासपूर्ण बनाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्