काठमाडौं, ६ कात्तिक। अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको बताएको छ।दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले आज त्यहाँको एक संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको बताएकी छिन्।
एलिसले अमेरिकी संसदको विदेश मामिला सम्बन्धी एक उपसमितिमा नेपाल सरकारले तिब्बती बुद्धमार्गीहरुका गतिविधिमाथिको रोक बढाएको र दलाई लामाको जन्मदिन मनाउनसमेत बन्देज लगाएको बताएकी छिन्।
यसअघि अमेरिकी विदेश सहायकमन्त्रीले नेपालमा चीनको गतिबिधि र प्रभाव बढेको टिप्पणी गर्दै आएका थिए। त्यस लगत्तै नेपालका लागि चिनियाँ राजदूतले अमेरिकी टिप्पणीको कडा शब्दमा निन्दा गर्दै नेपाल-चीन सम्बन्धमा कुनै टिप्पणी नगर्न चेतावनी दिएका थिए।
२५ असोजमा नेपाल आएका राष्ट्रपति सीले चीनको विभाजन चाहने र त्यस्ता गतिबिधि गर्नेहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए। उनको संकेत पनि अमेरिका र तिब्बती पृथकतावादीहरुलाई समर्थन गर्ने पश्चिमा मुलुकप्रति हो।
अमेरिकाले नेपालमा धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको दावीसमेत गरेको छ। नेपालको संविधान र अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताहरुमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाइने भनिएपनि धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौती कायमै रहेको अमेरिकाको भनाइ छ।
विदेश सहायकमन्त्री एलिसका अनुसार, ‘सन् २०१८ मा ल्याइएको फौजदारी संहितामार्फत् दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाएको छ। यसले धार्मिक अल्पसंख्यक समूहलाई जोमिखमा पारेको छ।
उनको वक्तव्यमा नेपालले लोकतान्त्रिक यात्रा र नागरिक अधिकारको संरक्षणमा उल्लेख्य प्रगति गरेको उल्लेख गरिएको छ। सहायकमन्त्री एलिसले स्वतन्त्र र खुला सञ्चार तथा नागरिक तथा राजनीतिक स्वतन्त्रतातर्फ पनि नेपालले प्रगति गरेको बताएकी छिन्।
अनलाइन मिडिया निर्दे्शिका लगायत कतिपय निर्दे्शिकाहरुमा जन सरोकारलाई सम्बोधन गर्दै नेपाल सरकारले संविधान प्रदत्त अधिकारलाई बिधायिकामार्फत् सम्बोधन गर्न प्रतिबद्धता जनाएको उनले बताएकी छन्।



लाेकपाटी न्यूज
