काठमाडौं, ६ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन्।
बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवं अनिश्चितताको विषयमा छलफल भएको थियो।
विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिए।
यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए।
दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताएका थिए।
त्यसै अवसरमा अर्थमन्त्रीसँग यूरो मनी तथा यसको सहप्रकाशन एसिया मनीका सम्पादकले समसामयिक आर्थिक विषयमा अन्तर्वाता लिएका थिए। यूरो मनी पत्रिकासँगको उक्त अन्तर्वाताको क्रममा उनले निजी लगानिकर्तालाई नेपालमा लगानी गर्दा जोखिमको यथार्थ विश्लेषण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिम वापत बढि प्रिमियम नलिन सघाउ पुर्याउन नेपालको क्रेडिट रेटिङ्ग गर्ने कार्य सुरु गरी सकेको जानकारी गराएका थिए।
त्यस्तै, विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नु पर्ने तर्फ सजग रहेको जानकारी दिए। अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै समाधान नहुने हुँदा अन्तर्राष्ट्रिय स्तरमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिए।
सो क्रममा उनले व्रिटेन उड्स वाहिरका वहुपक्षिय संस्थाहरु WTO तथा UNCTAD जस्ता अन्य बहुपक्षीय संस्थाहरुसँग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएको विद्यमान् समस्या समाधान हुने उल्लेख गरे।



लाेकपाटी न्यूज

