काठमाडौं, ६ कात्तिक। पशुपति आर्यघाटमा शव जलाउँदा लाग्ने शूल्क बढेकाे छ। पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएसँगै साे शूल्क बढेकाे हाे।
कामदारहरुले बुधबार माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने जस्ता कामहरु बन्द गरिएको घोषणा गरेका थिए । लगत्तै कोषले उनीहरुको माग सम्बोधन गर्दै पारिश्रमिक बढाउने निर्णय गरेको हो ।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार शवदाह सेवा शूल्क रु १२०० बाट बढाएर १५०० बनाइएको छ । त्यसैगरी, १० वर्षसम्मको बच्चाको शवदाह शुल्क ७०० बाट ९०० पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२०० बाट २५ प्रतिशत बढेर १५०० पुगेको छ ।
त्यस्तै, दाउरा परिवहन तथा चिता निर्माण ४०० बाट बढाएर ६०० बनाइएको ढकालले जानकारी दिए । चपरी खनेवापत दिइँदै आएको रकम पनि ३०० बढाएर ४०० पुर्याइएको उनले जानकारी दिए ।
यसैगरी काठमाडौँ महानगरपालिका ७, ८, ९ भित्रबाट शव बोकेको शूल्क १५०० तोकिएको छ भने ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेको २ हजार र शव वाहनमा सहयोग गरेको १५ सय निर्धारण गरिएको छ ।
सो शूल्कमा १० प्रतिशत सेवा सुविधा थप गरिने व्यवस्था समेत गएिएको छ । कामदारहरुको औषधी उपचार खर्च ५ हजार बाट बढाएर १५ हजार बनाइनुका साथै अस्पताल खर्चवापत दिइँदै आएको २० हजारलाई बढाएर ३० हजार बनाइएको छ । यस्तै अवकाशपछि ५० हजार दिने व्यवस्था पनि गरिएको छ ।



लाेकपाटी न्यूज
