काठमाडौं, ६ कात्तिक। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न पदाधिकारी बैठक बस्न लागेको बताइएको छ।
मंसिर १४ मा देशभरका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको छ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका प्रमुख ४ सहित ४३ वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो।
कांग्रेसले हरेक पदमा आकांक्षी तीन उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन जारी गरेको थियो। क्षेत्रीय कार्यसमितिमा ३ जनाको नाममा सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम केन्द्रमा पठाइएको छ। उपनिर्वाचन हुने अधिकांश स्थानबाट आकांक्षी उम्मेदवारको सिफारिस नामावली प्राप्त भएको शर्माले जानकारी गराए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पदाधिकारी बैठकले आएका नामबारे छलफल गर्छ। उम्मेदवारको अन्तिम टुंगो केन्द्रीय समिति बैठकले गर्नेछ।’ पदाधिकारी बैठक अघि तयारीका लागि शीर्ष तहका नेताको बैठक अपरान्ह १२ बजे केन्द्रीय कार्यालयमा डाकिएको उनले जानकारी दिए।
पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।



लाेकपाटी न्यूज

