सिञ्जामा कर्णाली प्रदेश स्तरीय महोत्सव 

mahotsab
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने\ जुम्ला, ५ कात्तिक। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले कर्णाली प्रदेश स्तरीय प्रथम बृहत साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजना गर्दै छ। सिञ्जाको खस सभ्यताको प्रचार प्रशार गर्नको लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

आज गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जानकारी गराउँदै गाउँपालिका अध्यक्ष नरबिर रावतले नेपाली भाषाको उद्गम स्थलमा पहिलो पटक देशको कार्यकारी उपराष्ट्रपति नन्दवहादुर पुनको प्रमूख आतिथ्यमा महोत्सव गर्न लागिएको जानकारी दिए।

कनकासुन्दरीमा रहेका विभिन्न धार्मिक तथा पर्यटन क्षेत्रको विकास गर्नको लागि महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। सिञ्जाको मौलिक संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष रावतको भनाइ छ।

कार्तिक ८ देखि १० गतेसम्म सञ्चालन हुने महोत्सवमा सिञ्जाका ऐतिहासिक कुराहरु झल्काउने उद्देश्य रहेको उनले जानकारी गराए। चौथो गाउँसभाको निर्णय अनुसार गाउँपालिकाको आयोजनामा महोत्सव सञ्चालन गर्ने लक्ष्य रहेको भन्दै उनले कनकासुन्दरीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रचार गरिने रावतको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री (भण्डारी) ले कनकासुन्दरीमा रहेका पाण्डवगुफा, विराट दरबार, लामाथाडा, लासीपाटन, धोविघाट, सिउवाघ, गौरी नौधारा लगायतका धार्मिक स्थलहरुको प्रचार प्रशार हुने बताइन्। सिंजा सभ्यता र यसको महत्वका बारेमा अध्ययन गर्न चाहने व्यक्तिलाई महोत्सवले सहयोग गर्ने उनको भनाइ छ।

महोत्सवमा सिञ्जाको मौलिक पहिरन, परम्परा खाना र मौलिक नृत्य, सिंगारनाच, धाँउशिलानाच, चम्फानाच, बोलानाच, ढालनाच, मागल, झोडा, पञ्चेबाजा, बालोनाच जस्ता स्थानीय साँस्कृतिक कार्यक्रम प्रर्दशन हुने उनको भनाइ छ। निमित्त प्रमूख प्रशासकीय अधिकृत दामोदर प्रसाद आचार्यका अनुसार स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन्।

हराउँदै गएको भेषभुषाको पहिचान गर्दे कनकासुन्दरीमा रहेको ऐतिहासिक स्थलहरुको बारेमा प्रचार प्रशार गरिने उनको भनाइ छ। महोत्सव सञ्चालनको लागि गाउँपालिकाले २० लाख र सम्बन्धि ५ नम्बर वडाले ३ लाख रुपैयाँ खर्च गर्ने आचार्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्