उपेन्द्र न्यौपाने\ जुम्ला, ५ कात्तिक। सिञ्जा अन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन्।प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धि मुलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो।
कनकासुन्दरी गाउँपालिका ५ मा रहेको माध्यामिक विद्यालय लुड्कुले डिजिटल हाजिरीको सुरुवात गरेको हो। गत वर्षको जेष्ठ महिनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुगेको विद्यालयले जनाएको छ।
शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र उपाध्यायले जानकारी दिए। शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेको उनको भनाइ छ।
शिक्षक नियमित हुने बित्तिकै विद्यालयको पठन पाठनमा धेरै सुधार हुने गरेको बुढाले बताए। विद्यालयले मल्टिमिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ। हाल कम्प्युटर कक्षा मल्टिमिडिया प्रयोग गरेर पढाउन सुरु गरेको समेत उनले बताए। कम्प्युटर शिक्षक देविलाल रावतका अनुसार अब अन्य विषयलाई समेत मल्टिमिडियाबाट अध्यापन गराउने बताए। त्यस क्षेत्रका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन्। सिंजा गाउँपालिका ५ मा फुंग्रमा रहेको कैलाश मा.वि.ले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ ।
माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले जनाएको छ। सिंजा गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए। गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको अध्यक्ष रावलले बताए।
विद्यालयमा शिक्षक १० बजेअघि नै उपस्थित हुनु पर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थिति समयमै हुन थालेको छ। गाउँपालिकाको शिक्षाक्षेत्रमा राम्रो परिणाम दिनका लागि स्थानीय सरकारले चासो देखाएको छ। प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्न सके शैक्षिक रुपान्तरण गर्न सहज हुने भएको छ। प्रशस्त मात्रामा आन्तरिक स्रोत भएका विद्यालय प्रविधिमैत्री हुन थाले पनि सिंजाका अधिकांश विद्यालयलाई भने शिक्षक व्यवस्थापनमै हम्मेहम्मे परेको बताइन्छ।
समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझै भएको शान्तिजन आधारभुत विद्यालय काडागाँउका प्रध्यानाध्यापक मानवहादुर रोकायाले जानरी दिए।
राजनीतिक पहुँचका आधारमा भनसुन गरी स्रोत लिन सफल केही विद्यालय तथा स्थानीय सरकारले समेत सहयोग गरेको बाहेक जिल्लामा ठूलो संख्याका विद्यालय आवश्यक शिक्षक, भौतिक पूर्वाधार व्यवस्थापनमै रुमल्लिनु परेको शिक्षा क्षेत्रका जानकारहरुले बताउने गरेका छन्। सिंजा क्षेत्रका २२ वटा विद्यालय मध्ये ५ वटा माध्यामिक रहेका छन् भने १७ वटा आधारभुत विद्यालय रहेको छन्।



लाेकपाटी न्यूज

