काठमाडाैं। गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट लगायतका बजार क्षेत्रको मुआब्जा तत्काल निर्धारण गर्नुपर्ने बताएका छन्। साे नगरे राजीनामा दिएर जनतासम्म जाने चेतावनी समेत उनले दिएका छन्।
उर्जामन्त्रालयमा भएको छलफलमा उनले जनतासमक्ष गरेको वाचा पूरा गर्न नसकेकाले पदमा बस्न नैतिक समस्या परेको भन्दै यस्तो चेतावनी दिएका हुन्। उनले भने, ‘नैतिक रुपले पनि के भनेर बस्ने त ? ४ वर्ष भइसक्यो, एक नम्बर क्षेत्रको अधिकांश भाग त्यसले (बुढीगण्डकी डुवान क्षेत्रले) कभर गरेको छ, जनताको जग्गा रोक्का भएको छ, बैंकमा ऋण छ, जनप्रतिनिधिको हैसियतले कसरी बस्ने ?’
आफूहरुले बुढीगण्डकी आयोजना बनाउने र स्थानीयलाई चित्तबुझ्दो मुआब्जा र पुनर्बास गराउने वाचा गरेर मत पाएको तर आफ्नै पार्टीको सरकारले माग सुनवाई नगरेको उनकाे गुनासाे थियाे।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रभित्रको स्थानीय बजार गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरेको बाहेक अन्यको मुआब्जा वितरण भइसकेको छ ।
छलफलमा धादिङका पुर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधीसभाका सदस्य भूमि त्रिपाठी र पूर्व सांसद गुरु बुर्लाकोटी समेत सहभागी थिए।



लाेकपाटी न्यूज

