काठमाडाैं। नेपाल टेलिकमले गत कात्तिक १ गतेदेखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महशुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।
यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महशुल दरप्रति एमबीपिएस रु चार हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महशुल दरप्रति एमबीपिएस रु दुई हजार ५०० मात्र कायम गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत् जनाएको छ ।
त्यसैगरी पहिले ११ देखि १०० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु चार हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु दुई हजार ३०० मा र ५१ देखि १०० एमबीपिएस रेन्जको प्रति एमबीपिएस मात्र रु दुई हजार १०० मा उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महशुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ ।
कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यवसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।
लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।
मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ÷संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।



लाेकपाटी न्यूज

