‘दीर्घकालीन महत्त्वका याेजना छनाेट गरौं’

Bina Magar
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ४ कात्तिक । खानेपानी मन्त्री बिना मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अघि बढ्न निर्देशन दिएकी हुन्। उनले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने बताइन्।

‘मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउनुस्।‘उनले भनिन् ‘ कतिपय योजनाहरु हचुवाको भरमा आएका छन् । यसमा ध्यान दिनुस्। वैज्ञानिक हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनुस्।’

दीगो विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने उनले बताइन्। देश भरको खानेपानी र सरसफाइको गुरु योजना बनाउन अति आवश्यक रहेको उनको भनाइ छ।

‘खानेपानीका कतिपय आयोजनाहरु संघ र प्रदेशमा दोहोरिने सम्भावना धेरै छन्। सामूहिक रोड म्याप बनाएर अघि बढ्नु होला ।‘ कर्मचारीहरुलाई निर्देशन दिदै भनिन्, ‘ घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्नुहोला।

योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउनुुहोस्। ‘चालु आर्थिक वर्ष भित्र नतिजा देखिने गरि फिल्डमा खटेर काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिइन्।

विभागका महानिर्देशक सुनिलकुमार दासले चालु आर्थिक वर्षमा नतिजा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। फिल्डमा देखिने समस्यालाई हल गर्दै मन्त्रालयको समन्वयमा अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्