काठमाडौं, ४ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका सर्लाही ईञ्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे दोहोरो भिडन्तमा मृत्यु नभएको राष्ट्रिय मानव अधिकार आयोगले निश्कर्ष निकालेको छ।
घटनाबारे आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक प्रहरीको बल प्रयोगबाट भएको निष्कर्ष निकालेको हो ।
आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।
अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुबै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए। प्रहरीले दोहोरो भिडन्त भने पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै घटनाका विषयमा प्रश्न उठाएका थिए। मानवअधिकार आयोगको प्रेस विज्ञप्ति



लाेकपाटी न्यूज
