महराले सांसदबाट राजीनामा नदिने

Krishna Bdr Mahara
लाेकपाटी न्यूज

काठमाडाैं, ३ कात्तिक। संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामूख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।

आफूले सभामूख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सभामूख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो ।

तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामूख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् ।

उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् । उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।