काठमाडौं, २ कात्तिक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए।
पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला ईञ्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।’
विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे। मन्त्री बाँस्कोटाले प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशासनलाई चुनौती दिएर गल्ती गरिरहेको दाबी गरे।
‘एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्को्तिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्य संयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ हरायो ?’ उनले प्रश्न गरे । सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए।
मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न कांग्रेसलाई सुझाव दिए । उनले भने, ‘यो कम्यूनिस्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन् ।’
केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने कांग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उनले प्रश्न गरे।



रासस न्यूज

