काठमाडौं, २ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनियाँ अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन्। लजालु स्वभावमा उनी मुस्कुराइन्।
प्रत्युत्तरमा अभिनेत्री सी छिङले भनिन्, ‘नेपाल-चीनबीच सुमधुर सम्बन्ध छ। बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु। धन्यबाद् ।’ नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिए। मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा भने, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु। अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु।
टोलीसहित नेपाल आएकी अभिनेत्री छिङसँग नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आज औपचारिक कार्यक्रम गरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो।



लाेकपाटी न्यूज

