नयाँ सभामूखका लागि गृहकार्य सुरु

लाेकपाटी न्यूज

काठमाडाैं। कृष्णबहादुर महराले सभामूखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामूखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामूख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि तत्कालीन सभामूख महराले राजीनामा दिएसँगै सभामूख पद रिक्त भएको हो ।

नेपालको संविधानमा सभामूख र उपसभामूख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । सुरुमा सभामूख र उपसभामूख नियुक्त हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै दल थियो तर अहिले दुई दल मिलेर नेकपा भएपछि सभामूख र उपसभामूख कसरी बाँडफाँट गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए।

उपसभामूख पनि नेकपाकै रहेकाले के गर्ने भन्ने विषयमा पार्टीभित्र परामर्श भइरहेको छ । उपसभामूखलाई राजीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामूख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ ।

तत्कालीन अवस्थामा माओवादी केन्द्रका तर्फबाट महरा सभामूख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाङ्फे उपसभामूख बनेका थियो । नियुक्त हुने नयाँ सभामुख पनि तत्कालीन माओवादी केन्द्रकै तर्फबाट हुनपर्ने पार्टीमा दबाब छ ।

तत्कालीन एमालेले पनि सभामूखका लागि दाबी गरिरहेको छ । यी विषयमा पार्टीभित्र आन्तरिक छलफल भए पनि नेताहरूले कुनै कुरा बाहिर ल्याएका छैनन् । –गाेरखापत्रबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्