‘यो आर्थिक वर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ’

bishnu-paudel
लाेकपाटी न्यूज

बुटवल, ३० असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको साथ र समर्थन रहेको बताएका छन्।

रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन्।

महासचिव पौडेलले नेपाल र भारतबीचको सम्बन्ध राम्रो भएको उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको दावी गरे। महासचिव पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना डिपिआर निर्माणको काम भैरहेको जानकारी दिए।

महासचिव पौडेलले प्रदेश प्रदेशबीच हुने विवाद तथा समस्या समाधान गर्नुपर्नेमा जोड दिए। पौडेलले यो परियोजना सबैको हितमा हुने बताउँदै विवादमा मुछ्न नहुने बताए।

बुटवल-पाल्पाको सिद्वबाबा सडकमा सुरुङमार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘यो आर्थिक वर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ।’

महासचिव पौडेलले विकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने उल्लेख गर्दै विकास निर्माणका काममा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले बुटवलका १९ वटै वडामा शुद्व खानेपानी पुर्‍याउनुपर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट आफूले प्रबन्ध गर्ने प्रतिबद्धतासमेत जनाए।